1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढ्यो, व्यापार घाटा पनि उकालो

४९०पाठक संख्या
५वास्तविक शेयर
५३एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढ्यो, व्यापार घाटा पनि उकालो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेको छ। भन्सार विभागको साउन, भदौ र असोज महिनाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो। यद्यपि, आयातको आकार निर्यातभन्दा निकै ठूलो रहेकाले व्यापार घाटासमेत बढेको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको वस्तु आयात भएको थियो। यससँगै आयात ३८.१८ प्रतिशतले बढेको छ।

यस अवधिमा नेपालको निर्यात व्यापार भने ५७.०३ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ७२ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको थियो। निर्यातको वृद्धिदर आयातको तुलनामा उच्च देखिए पनि कुल वैदेशिक व्यापारमा यसको हिस्सा अझै न्यून छ।

आयात र निर्यातबीचको अन्तर अर्थात् व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८४.९८ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १५.०२ प्रतिशत मात्रै छ। त्यस्तै, आयात–निर्यात अनुपात गत वर्षको ६.४३ बाट घटेर ५.६६ मा झरेको छ।

तथ्याङ्कले नेपालको निर्यात व्यापारमा उल्लेख्य वृद्धि देखाए पनि समग्र वैदेशिक व्यापारमा आयातकै प्रभुत्व कायम रहेको स्पष्ट पार्छ। निर्यात बढ्दै जाँदा पनि आयातको ठूलो आकारका कारण व्यापार घाटा उच्च रहनु नेपालको वैदेशिक व्यापारको प्रमुख चुनौतीका रूपमा देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२३ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN