1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
कलैया प्रादेशिक अस्पताल

कलैया प्रादेशिक अस्पतालमा राजनीतिक भर्तीको आरोप, छानबिन गर्ने सांसद अरविन्द साहको चेतावनी

१,४०८पाठक संख्या
२४वास्तविक शेयर
१६३एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

कलैया प्रादेशिक अस्पतालमा राजनीतिक भर्तीको आरोप, छानबिन गर्ने सांसद अरविन्द साहको चेतावनी

बाराको कलैयास्थित प्रादेशिक अस्पताल राजनीतिक भर्ती केन्द्र बनेको आरोप लगाउँदै बारा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले अस्पतालको अवस्थाबारे छानबिन गर्न कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।

बुधबार आफ्नो सचिवालयको सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै सांसद साहले अस्पतालको सेवा सुधारका लागि लामो समयदेखि पहल र समन्वय गरे पनि अपेक्षित प्रगति हुन नसकेको बताएका छन्। उनका अनुसार अस्पतालको अवस्था सुधार हुनुको सट्टा झन् बिग्रँदै गएको छ।

सांसद साहले आफू निर्वाचित भएपछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले काम सुरु गरेको बताए। प्रादेशिक अस्पताल कलैयालाई प्राथमिकतामा राखेर पटक–पटक अस्पतालको भ्रमण गर्नुका साथै मेडिकल सुपरिटेन्डेन्ट र कर्मचारीहरूसँग छलफल गरेको उनले जानकारी दिए। अस्पतालको सुधारका लागि प्रदेश तथा संघीय सरकारका मन्त्री, सचिव र सम्बन्धित अधिकारीहरूसँग पनि समन्वय गरिएको उनको भनाइ छ।

अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणले समयमै सेवा पाउन नसकेको विषयमा उनले विशेष चिन्ता व्यक्त गरेका छन्। सिम्रौनगढलगायत जिल्लाका टाढाका क्षेत्रबाट बिरामी अस्पताल पुग्दा दिउँसो १२ देखि १ बजेसम्म बहिरङ्ग सेवा (ओपीडी) को टिकट वितरण बन्द भइसक्ने समस्या रहेको उनले बताए। बिरामीको सहजताका लागि अस्पताललाई दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने उनको सुझाव छ।

चिकित्सकको अभाव देखिएपछि प्रदेश सरकारसँग समन्वय गरेर चार चिकित्सकको दरबन्दी कायम गरिएको भए पनि नियुक्ति प्रक्रियामा राजनीतिक पहुँचलाई प्राथमिकता दिइएको सांसद साहको आरोप छ। अस्पतालमा १०० भन्दा बढी कर्मचारी रहेको भनिए पनि ७० देखि ८० जनाभन्दा बढी नियमित रूपमा हाजिर नहुने गरेको उनले दाबी गरेका छन्। साथै, २०७३ सालदेखि ज्यालादारीमा कर्मचारी राखिँदै आएको विषयमा पनि उनले प्रश्न उठाएका छन्।

अस्पतालमा एनेस्थेसिया चिकित्सक, स्त्रीरोग विशेषज्ञ र रेडियोलोजिस्टको अभाव रहेको तथा उपलब्ध उपकरणसमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको साहले बताएका छन्। अस्पताल प्रशासनले स्रोतसाधनको अभाव र करारमा कर्मचारी नियुक्त गर्ने अधिकार नभएको बताउने गरे पनि ज्यालादारीमा कर्मचारी राख्ने क्रम जारी रहेको उनको आरोप छ।

सांसद साहले ज्यालादारीमा कार्यरत कर्मचारीहरूको विवरण सार्वजनिक गर्न र उनीहरूको नियुक्तिको कानुनी आधारबारे छानबिन गर्न माग गरेका छन्। अस्पतालमा राजनीतिक प्रभावका कारण गरिब तथा विपन्न नागरिकले गुणस्तरीय उपचार पाउन नसकेको भन्दै उनले यस विषयमा जनस्तरबाट पनि खबरदारी आवश्यक रहेको बताएका छन्।

अस्पताल सुधारका लागि जिल्ला प्रशासन कार्यालयदेखि प्रदेश सरकारसम्म पत्राचार गरिसकेको जानकारी दिँदै साहले प्रादेशिक अस्पताल कलैयालाई राजनीतिक प्रभावबाट मुक्त गरी सर्वसाधारणले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने संस्थाका रूपमा विकास गर्न सबै पक्षलाई एकजुट हुन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 3 जनाको प्रतिक्रिया
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२३ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

1 प्रकाशित टिप्पणी
A
Arun Kumar Sah २०८३ कार्तिक १६

Welldone

EN