बडादसैँको सातौँ दिन आज देशभरका दुर्गा मन्दिर, दसैँघर तथा पूजा कोठामा देवी कालरात्रिको पूजा आराधना गरिँदैछ। यसै अवसरमा वैदिक विधिअनुसार घरघरमा फूलपाती भित्र्याउने तयारी पनि गरिएको छ।
नवरात्रको सातौँ दिन अर्थात् आश्विन शुक्ल सप्तमीमा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको पूजा गर्ने धार्मिक परम्परा छ। धार्मिक विश्वासअनुसार देवी कालरात्रिले दुष्ट शक्तिको नाश गरी भक्तजनलाई भय र संकटबाट रक्षा गर्छिन्।
कालरात्रि देवीको स्वरूप कालो वर्णको र शक्तिशाली रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। देवीको आराधना गर्दा दुःख, संकट र नकारात्मक शक्तिबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ।
नवरात्र सुरु भएको घटस्थापनाका दिन पूजा कोठा तथा दसैँघरमा जमरा राखेर देवी शैलपुत्रीको पूजा गरिएको थियो। त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता र कात्यायनी देवीको पूजा आराधना गरिसकिएको छ।
नवरात्रभरि भक्तजनले दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ पाठ गर्ने तथा शक्तिपीठहरूमा पुगेर पूजा गर्ने परम्परा छ। देवीको उपासना गर्दा शक्ति, समृद्धि र ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ।
आज फूलपाती भित्र्याएसँगै दसैँको धार्मिक र सांस्कृतिक रौनक थप बढ्नेछ। त्यसपछि महाअष्टमी र महानवमीमा क्रमशः महागौरी र सिद्धिदात्री देवीको पूजा गरिनेछ।
विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परासँगै दसैँको मुख्य उत्सव मनाइन्छ। यो पर्व कोजाग्रत पूर्णिमासम्म १५ दिनसम्म मनाउने चलन छ। यस अवसरमा देशभरका प्रमुख शक्तिपीठहरूमा दर्शन तथा पूजाआराधना गर्न भक्तजनको उपस्थिति बढेको छ।











हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै
बर्खास्तीको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा
अब कन्टेन्ट क्रिएटर र इन्फ्लुयन्सरलाई पनि पत्रकार आचारसंहिता लागू हुने
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन