नेपालीहरूको महान् चाड बडादसैंको समापनको दिन आज कोजाग्रत पूर्णिमा धार्मिक आस्था र परम्पराअनुसार मनाइँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा धन, ऐश्वर्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बस्ने चलन छ।
विजयादशमीदेखि सुरु भएको दसैंको टीका र जमरा लगाउने परम्परा पनि कोजाग्रत पूर्णिमासँगै औपचारिक रूपमा समाप्त हुन्छ। यस दिनलाई दसैंको बिदाइ गर्दै तिहारलगायत आगामी पर्वहरूको स्वागत गर्ने अवसरका रूपमा समेत लिइन्छ।
धार्मिक मान्यताअनुसार कोजाग्रत पूर्णिमाको रात महालक्ष्मी पृथ्वीमा विचरण गर्दै को जागा छ भनेर हेर्न आउने विश्वास गरिन्छ। रातभर जाग्राम बसेर देवीको पूजा–आराधना गर्ने भक्तजनलाई महालक्ष्मीले धन, सुख, समृद्धि र सौभाग्य प्रदान गर्ने जनविश्वास छ।
यस अवसरमा घरघरमा महालक्ष्मीको पूजा गरी दीप प्रज्वलन गरिन्छ। दसैंका क्रममा घटस्थापनामा राखिएको जमरा तथा पूजाका सामग्रीलाई धार्मिक विधिअनुसार नदी, तलाउ वा अन्य पवित्र जलाशयमा विसर्जन गर्ने परम्परा पनि छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज साँझसम्म देवीको बलिसम्बन्धी विधि पूरा नभएसम्म दसैंको टीका र जमरा प्रसादका रूपमा ग्रहण गर्न शास्त्रसम्मत मानिन्छ। त्यसैले विजयादशमीका दिन टीका लगाउन छुटेका व्यक्तिहरूले कोजाग्रत पूर्णिमासम्म पनि टीका र जमरा लगाउने परम्परा कायम छ।
कोजाग्रत पूर्णिमासँगै १५ दिन लामो बडादसैंको औपचारिक समापन हुन्छ। भोलिदेखि कात्तिक स्नान, आकाशदीप दान र तुलसी पूजाजस्ता धार्मिक परम्परा सुरु हुने भएकाले यो दिन दसैंको बिदाइसँगै तिहारको आगमनको संकेत पनि हो।











हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै
बर्खास्तीको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा
अब कन्टेन्ट क्रिएटर र इन्फ्लुयन्सरलाई पनि पत्रकार आचारसंहिता लागू हुने
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन