नेपाली कांग्रेस बाराले बडादशैं, शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागितामा आयोजित कार्यक्रममा आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।
नेपाली कांग्रेसका कार्यवाहक सभापति मनोज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता तथा पूर्वमन्त्री सुरेन्द्र चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरू असर्फी साह, अञ्जु झा र ममता शर्मालाई सम्मान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। उनीहरूलाई कार्यवाहक सभापति भट्ट र जिल्ला सचिव राजेश रौनियारले माला लगाएर सम्मान गरेका थिए।
कार्यक्रममा सहभागी नेताहरूले दशैं, दीपावली र छठजस्ता पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले सम्पन्न नेपाली समाजमा यस्ता पर्वले सामाजिक एकता र सहकार्यलाई थप मजबुत बनाउने उनीहरूको भनाइ थियो।
वक्ताहरूले बडादशैंले पारिवारिक मिलन र आपसी प्रेम, दीपावलीले उज्यालो र आशा तथा छठ पर्वले प्रकृति, सूर्य र जलप्रतिको आस्था एवं सांस्कृतिक सद्भावको सन्देश दिने उल्लेख गरे। चाडपर्वलाई धार्मिक तथा सांस्कृतिक उत्सवमा मात्र सीमित नराखी सामाजिक दूरी घटाउने, आपसी सम्बन्ध प्रगाढ बनाउने र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्नेमा उनीहरूले जोड दिए।
कार्यक्रमका क्रममा नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पार्टी संगठनलाई थप सुदृढ, जनमुखी र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षासहित बधाई दिइएको थियो। पार्टीको संगठनलाई गाउँटोलसम्म विस्तार गर्दै जनताका भावना र अपेक्षालाई नेतृत्वसम्म पुर्याउन उनीहरूले योगदान दिनुपर्ने धारणा सहभागीहरूले व्यक्त गरेका थिए।
शुभकामना आदानप्रदानसँगै कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण, आगामी गतिविधि तथा समसामयिक राजनीतिक विषयमा समेत अनौपचारिक छलफल भएको थियो। सहभागीहरूले चाडपर्वले सबैको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र प्रगति ल्याओस् भन्ने कामना गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य रामानन्द यादव, नेपाल महिला संघकी केन्द्रीय सदस्य बबिता जैसवाल, बारा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ‘ख’ का सभापति शशिकान्त मिश्रा, निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा ‘ख’ का सभापति विजय गुप्ता, जिल्ला कार्यसमिति सदस्य दीपप्रकाश गुप्तालगायत पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।











सरकार र पार्टीबीच कुनै अन्तरद्वन्द्व छैन : रवि लामिछाने
‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह
आज रास्वपा सचिवालय बैठक बस्दै
देउवा समूहले खुलामञ्चमा महाधिवेशन गर्ने
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन