बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडप र गोली चलेको घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ। घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाइएको छ।
घटनाको अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालको नेतृत्वमा समिति गठन गरिएको छ। समितिमा प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य रहेका छन्। समितिलाई घटनाको विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर शनिबार विवाद भएको थियो। अस्पतालमा आवश्यक पूर्वाधार, उपकरण तथा स्वास्थ्य सेवा सञ्चालनका लागि चाहिने व्यवस्था पूर्ण नभएको भन्दै स्थानीयवासीले उद्घाटन कार्यक्रमप्रति असन्तुष्टि जनाएका थिए। यही विषयमा सुरु भएको विरोध चर्किँदै गएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको थियो।
विवादका क्रममा अस्पताल परिसरमा राखिएको शिलालेख तोडफोड भएपछि अवस्था थप तनावपूर्ण बनेको थियो। गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी पक्षधर र विरोधमा उत्रिएका स्थानीयबीच विवाद बढ्दै जाँदा प्रहरीसँग झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय युवक आदित्य पासवान घाइते भएका थिए।
घटनाका क्रममा प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच जना प्रहरी घाइते भएको विवरणसमेत सार्वजनिक भएको छ। झडपका क्रममा मोटरसाइकलमा आगजनी हुनुका साथै अस्पताल परिसरमा तोडफोड भएको थियो। प्रारम्भिक विवरणअनुसार १० वटा मोटरसाइकलमा आगजनी गरिएको थियो।
घटनाको समयमा सुरक्षा कमान्ड सम्हालेका प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाइएको छ। प्रहरीको बल प्रयोग, गोली चलाइएको परिस्थिति र घटनालाई नियन्त्रणमा लिन अपनाइएको सुरक्षा रणनीतिबारे छानबिन भइरहेको छ। प्रतिवेदनपछि घटनामा प्रहरीको भूमिका र जिम्मेवारीबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।











प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन
बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
पथलैयाको जंगलमा अचेत अवस्थामा भेटिए ४२ वर्षीय पुरुष, पहिचान खुल्न सकेन
बारामा श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगन्जबाट पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन